Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

  • 2
    SHARES
  • जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदी बन्दी

    काठमाडौं । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदी बन्दी रहेका छन् । कारागारमा १५ जना कैदी बन्दी राख्ने क्षमता भएपनि हाल जिल्ला कारागारमा ४८ जना कैदी बन्दी रहेका छन् । कालिकोट छुटै जिल्ला बनेको पाँच वर्षपछि २०३७ सालमा स्थापना भएको कारागार निकै पुरानो र जीर्ण भएका कारणले अहिले समस्या भएको जिल्ला कारागार कालिकोटका निमित्त प्रमुख जेलर कर्णप्रसाद पण्डितले बताए ।

    उनले जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राखिँदा समस्या भएको जानकारी दिए । कारागार निकै पुरानो भएको अहिलेको अवस्थामा कैदी बन्दीको संख्या पनि धेरै रहेको निमित्त प्रमुख जेलर पण्डितले बताए । ‘यहाँको भौतिक संरचना अत्यन्तै जीर्ण छ । जीर्ण भवनमा यति धेरै कैदी बस्नुपर्दा जीवनको जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘कतिका मुद्दा चलिरहेका छन् केही अझै थपिन्छन् होला तर यो भवनमा कैदीलाई बास बसाउने ठाउँसमेत समस्या रहेको छ ।’

    सीमित पूर्वाधार, साँघुरा कोठा र कैदीको बढ्दो चापका कारण जिल्ला कारागार कालिकोट व्यवस्थापनमा चुनौती थपिएको पण्डितले बताए । उनले २०३७ सालमा स्थापना भएको कारागार २०६५ सालमा सामान्य मर्मत गरिए पनि अहिले जीर्ण बन्दै गएकोले जोखिम बढेको बताए । कारागारभित्र कैदी राख्ने क्षमता सीमित भए पनि कैदी बन्दीको संख्या बढ्दै जाँदा उपलब्ध संरचनाले धान्न नसक्ने अवस्था सिर्जना भएको र लामो समय भइसक्दा पनि गोलघेराको पर्खालसमेत मर्मत नभएको कारागार व्यवस्थापनले जनाएको छ । 

    पुरानो तथा जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा उनीहरूको बसोबास, स्वास्थ्य, सरसफाइ र दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न हुने जोखिम बढेको निमित्त प्रमुख पण्डितले बताए । कारागारमा १५ जना पुरुष कैदी बन्दी राख्ने क्षमता भएको भवनमा हाल ४४ जना कैदी बन्दी रहेको पण्डितले बताए । उनका अनुसार ४४ जना पुरुष रहेका छन् । १० जना महिला कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार जना महिला रहेका छन् । कारागारमा हाल जम्मा ४८ जना कैदी रहेको कारागार व्यवस्थापनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij