वेबटिभी खबर
दाङ । दाङमा १८ वटा ‘डायलायसिस मेसिन’ पठाएकाे छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मेसिन पठाएको हो ।
यसअघि प्रतिष्ठानमा ५ वटा डायलायसिस मेसिन र प्रादेशिक अस्पतालमा ५ वटा मेसिन थिए । सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो ।
अब त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.विनोद सिंहले बताए । ‘यसअघि २३ जनामात्रै बिरामीलाई सेवा दिन सकिएको थियो’, उनले भने, ‘अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।’
प्रतिष्ठानबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान दाजु भट्टराईले बताए ।
उनका अनुसार अहिले दुई सिफ्टमा सेवा दिने गरिएको भए पनि अब चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मेसिन सञ्चालनमा आउन करिब तीन महिना लाग्ने मेडिकल सुपरिटेण्डेन्ट डा.सिंहले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij