वेबटिभी खबर
रूकुमपूर्व । रूकुमपूर्वको सिस्ने गाउँपालिका-३ पोखरामा अरिंगालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिंगालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।
माहुरी पालक किसान ओमप्रकाश खड्काले अरिंगालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता भएको बताए । उनका १६० माहुरी घार छन् । उन यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ ।
अहिले परिवारका ४ सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँका माहुरी सबै अरिंगालले सखाप पारेको खड्काको भनाइ छ ।
उनले पोखरा घरमा, दान र माहुरी खर्कससँगै सिस्ने-५ को रुवाबाङमा माहुरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारको माहुरी सबै अरिंगालले सकेको उनले बताए ।
यस्तै पोखराकै अर्का माहुरीपालक किसान कमलाल खड्काले पनि अरिंगालले सताएर हैरान बनाएको बताउछन् । उनले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिंगालबाट जोगाउन हैरानी भएको जानकारी दिए ।
परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिंगालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काको गुनासो छ । उनका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिंगालले सताउने गरेको थिएन ।
यस वर्ष अरिंगालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।
यस्तै सिस्ने गाउँपालिका-५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिंगालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिंगालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ ।
अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिंगालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij