वेबटिभी खबर
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सांकन कार्य सुरु गरिएको छ ।
संघीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं-७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्सांकन कार्य सुरु गरिएको हो ।
भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार सो गाउँपालिकामा ३ हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् ।
त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र २ हजार ६८५ अव्यवस्थित बसोबासी रहेको उनले बताए । इच्छाकामनामा वडा नं-७ मा सबैभन्दा बढी १ हजार ६२७ ले निवेदन दिएका छन् ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी तीन महिनाभित्र नाप नक्सांकन कार्य सम्पन्न गरिने जानकारी दिए । ६ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपुर्जासमेत वितरण गरिने अध्यक्ष गुरुङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij