Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

  • 402
    SHARES
  • प्रदेशको नामकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति

    काठमाडौं । प्रदेश नम्बर १ को नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरूबीच शुक्रबार सहमति भएको छ ।

    सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामकरणका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्न सहमति भएको सभामुख भण्डारीले जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतिबाटै नाम राख्न दलहरू सहमत भएको बताए । आगामी दिनमा यसरी नै छलफल जारी राख्ने सहमति भएकाे उनकाे भनाइ छ ।

    मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरूको निष्कर्ष रहेको सञ्चारकर्मीहरूलाई बताए । उनले दलहरूले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफलबढी केन्द्रित भएको जानकारी दिए ।

    मुख्यमन्त्री राईले आजको बैठक सकारात्मक रहेको भन्दै आगामी दिनमा सबै दलहरूले आन्तरिकरूपमा पार्टीभित्र समेत छलफल गर्ने सहमति भएको बताए । उनले पार्टीहरूबाट वैकल्पिक नाम ल्याउनेसमेत सहमति कायम भएको छ । भन्दै अत्यधिक रूपमा यही संसद्को अधिवेशनमा प्रदेशको नामकरण टुंगिने विश्वास रहेको बताए ।

    नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बैठकमा कांग्रेसले प्रदेशको नामकरणको प्रक्रिया तत्काल थाल्नुपर्ने बताए । उनले प्रक्रिया सुरु गरेपछि सहमतिको विन्दुमा पुग्न सकिने आफूहरूको धारणा रहेको जानकारी दिए ।

    उनले कांग्रेस साझा पहिचानको पक्षमा रहेको बताए । नेकपा एमाले नेता हिक्मतकुमार कार्की र जीवन घिमिरेले चालु संसदबाटै प्रदेशको नाम टुङ्ग्याउन एमाले दृढ रहेको र बैठकमा सोहीअनुसार प्रस्तुत भएको बताए ।

    उनले बैठकमा तुरून्त प्रक्रिया सुरु गर्ने कि दलहरूबीच सहमति भएपछि मात्रै संसदमा लैजाने भन्ने विषयमा छलफल भएको जानकारी दिए । प्रदेशको राजधानी विराटनगर राख्न यसअघि दलहरूबीच साझा सहमति भए जस्तै नामकरणमा पनि साझा मिलन विन्दु खोजेर जाने कुरा भएको बताए ।

    सर्वदलीय बैठकमा राप्रपा बाहेकका सबै दलको सहभागिता रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

    प्रदेशसभा ९३ सदस्यीय रहेकामा एमालेका सभामुखसहित ३९, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी नेपाल (जसपा)का तीन र राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एकजना सदस्य  छन् ।

    प्रदेशसभाबाट एमालेका दुईजनाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए भने माओवादी केन्द्रका एक सांसद पदमुक्त भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij