वेबटिभी खबर
सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ती बिरामीलाई १० हजारका दरले ११ लाख उपलब्ध गराएको हो ।
सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरूलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।
‘क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौं’, उनले भने, ‘आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहोर्याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।’
त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक ५०० दरले ६ महिनाको ३ हजारका दरले २ लाख रकम भुक्तानी भएको कार्यालयले जनाएको छ ।
उनले भने, ‘एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना ३ हजारका दरले ४ लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याउँदा ६ महिलालाई ५१ हजार प्रदान उपलब्ध गरेका छौं ।’
त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति २ लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८/७९ मा प्राप्त १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij