वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका सडक पछिल्लाे समय फाेहाेरले भरिन थालेका छन् । पुतलीसडक क्षेत्रको फोहाेर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।
काठमाडौं महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो ।
गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताए ।
फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् ।
‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ’ उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआएका रामचन्द्र श्रेष्ठ बताए । राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उनले बताए ।
महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।
महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।
त्यस्तै काठमाडाैं महानगरका विभिन्न स्थानमा फाेहाेरकाे थुप्राे लागेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij