वेबटिभी खबर
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो ।
नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
यस्तै सम्पूर्ण नगरबासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घर वा चोकमा अनावश्यकरूपमा भीडभाड नगर्न, जुवातास नखेल्न तथा मदिरा सेवन नगर्न आग्रहसमेत गरेको छ ।
चन्द्रागिरिले बिहान बेलुका सञ्चालन हुने पसलमा जाने सेवाग्राहीले साबुन पानीले वा सेनिटाइजरले हात धुने व्यवस्था गर्ने, बिक्रेता तथा सेवाग्राहीले अनिवार्यरूपमा मास्क्को प्रयोग गर्ने व्यवस्थासमेत मिलाउनुपर्ने बताएको छ ।
निषेधाज्ञाको समयमा चन्द्रागिरिका वडा कार्यालय भने खुल्ने भएका छन् । सेवाग्राहीको अत्यावश्यक सेवालाई ध्यानमा राखेर आलोपालो नगरपालिका तथा वडा कार्यालय खोल्ने बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij