Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बन्दीपुरमा सडक खाना महोत्सव सुरु

बन्दीपुरमा सडक खाना महोत्सव सुरु

  • 753
    SHARES
  • बन्दीपुरमा सडक खाना महोत्सव सुरु

    काठमाडौं । नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुधबारदेखि  सडक खाना महोत्सव सुरु भएको हो ।

    महोत्सवको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर पर्यटन विकासका लागि गुरूयोजना बनाएर अगाडि बढिएको बताए । कोभिड संक्रमणका कारण बन्दीपुरको पर्यटनमा प्रभावित भए पनि विस्तारै संक्रमण न्यूनीकरण भएकाले यसले गति लिने थापाको भनाइ छ ।

    उनले गाउँपालिकाको समग्र विकासका लागि २० वर्षे गुरूयोजना बनाइएको बताए । महोत्सव शुक्रबारसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानको भनाइ छ ।

    ‘कोभिडका कारण विगत केही वर्षदेखि नयाँ वर्षमा कार्यक्रम गर्न सकिएको थिएन, अहिले कोभिड संक्रमण घटेकाले नयाँ वर्षमा सांगितिक कार्यक्रमसहित खाना महोत्सवको आयोजना गरेका हौं’, उनले भने, ‘यो कार्यक्रमले बन्दीपुरमा पर्यटक आकर्षित गर्ने विश्वास लिएका छौं ।’

    महोत्सवको उद्घाटनका दिन करिब २ हजार आन्तरिक पर्यटक बन्दीपुर पुगेका छन् ।बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन बढ्नेमा व्यवसायी विश्वस्त छन् ।

    ‘नयाँ वर्षपछि पर्यटक आगमन बढ्नेमा आशावादी छौं’, उनले भने, ‘सडक खाना महोत्सव पनि एउटा माध्यम हुनेछ ।’ यहाँ आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दीपुर आउन सहयोग पुर्‍याउने विश्वास लिइएको प्रधानले बताए ।

    सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनाका साथै ‘दि इन्ट्रो ब्याण्ड’ को प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास हाम्रो छ’, होटल व्यवसायी विपीन प्रधानले भने ।

    बन्दीपुरमा होटल संघसँग आबद्व साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा रहेका छन् ।

    बन्दीपुरबाट अन्नपूर्ण,माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु बन्ने गरेका छन् ।

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij