वेबटिभी खबर
म्याग्दी । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ ।
संघीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले मालिका गाउँपालिका-७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका-६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो ।
बिमवाङका वासिन्दा खिमन जुग्जालीले पुल बनेपछि एक घण्टा लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताए । ‘बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जंगलमा करिब १ घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो’, उनले भने, ‘पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ ।’
यो पुलबाट मालिका, धौलागिरि र रघुगंगा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
बिम, मराङ, मल्कवाङ र कुइने मंगलेका करिब १ हजार ५ सय घरधुरी लाभान्वित भएका हुन् । सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएको धौलागिरि-६ आरवाङको प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनले बताए ।
म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा-थानी-हिमशिखर जेभीले २०७७ असारमा २ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्राविधिक विष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राविधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताए । उनका अनुसार यो पुलमा एक पटकमा ७५५ मानिस आवतजावत गर्नसक्ने क्षमता रहेको छ । पुलको उचाइ करिब १५० मिटर छ ।
आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले पनि सम्भावना रहेको धौलागिरि गाउँपालिका-६ मराङका वडाध्यक्ष राजाराम सुबेदीले बताए । पुल तर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाको अवलोकन गर्न सकिन्छ ।
साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ । लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकका कारण बिमवाङ र रिखमा चहलपहल तथा व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ ।
यो पुल हुँदै प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकलाई समेत सुविधा पुग्ने मालिका गाउँपालिका-७ का वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij