वेबटिभी खबर
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ । मंगलबार बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंम्बर कोठा बुक गरेर बसेका थिए ।
बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसेपनि बिहान भने ती पुरुष थिएनन् ।
फरार रहेका ती पुरुष र मृतक महिला बीचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहको छ भने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शंकास्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij