वेबटिभी खबर
बलेवा । बागलुङको पर्यटन प्रवर्द्धनका लागि यहाँका युवाले प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको बेलढंगासम्म पदयात्रा गरेका छन् ।
कोरोना भाइरसको जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएका १२ युवाको समूहले दुई दिने पदयात्रा सुरु गरेका हुन् ।
बागलुङ नगरपालिका-६ पञ्चकोटबाट शनिबार सुरु भएको यात्रा आइतबार काठेखोला गाउँपालिका-३ को बेलढङ्गामा पुगेर सकिने यात्रामा सहभागी प्रेम केसीले बताए ।
पञ्चकोट-बेलढुंगा पदमार्गमा पर्ने संसारकोट, थाप्ले, गुनगुनेको धुरी, दारेगौँडा लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धन लागि पदयात्रा गरिएको उनको भनाइ छ ।
काठेखोला गाउँपालिका-२ भीमापोखरामा रहेको पुष्पाञ्जलि ग्रामीण विकास केन्द्रले शिवरात्रिको अवसर पारेर पद्यात्राको आयोजना गरेको थियो ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय क्षेत्र समेटिएको पञ्चकोट-बेलढुंगा पदमार्गको प्रचारका लागि पदयात्रा गराइएको केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए ।
केन्द्रले गतवर्ष थाप्लेको धुरीमा सात देशका झण्डा राखेर पर्यटकलाई निम्ता दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij