वेबटिभी खबर
चितवन । युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लाेकसेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रूपमा कक्षा र तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरभित्रका युवाहरूलाई आफूले इच्छा व्यक्त गरे अनुसार तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिइन् ।
महानगरपालिकाले १८ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लाेकसेवा र शिक्षक सेवाको तयारीका लागि सहयोग गर्न लागेको उनले बताइन् । महानगरले गत पुस २७ गते १५ दिनको सूचना जारी गरी इच्छा अनुसारको आवेदन आह्वान गरिसकेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि इच्छा अनुसारको तालिम र तयारी कक्षा सुरू गरिने बताए । यसका लागि महानगरले हाल ५० लाख बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ ।
विज्ञबाट तालिम र कक्षा सञ्चालन गरिने महानगरले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij