वेबटिभी खबर
काठमाडौं । मेडिकल कलेजहरूले अतिरिक्त शुल्कका नाममा शोषण गरेको भन्दै विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूको आन्दोलनलाई बुधबार विद्यार्थी संगठनहरूले पनि ऐक्यबद्धता जनाएका हुन् ।
काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेजलगायत देशभरका मेडिकल कलेजले अतिरिक्त शुल्कका नाममा विद्यार्थीमाथि गरेको शोषणविरुद्ध आफूहरू सडकमा आएको विद्यार्थी संगठनहरूको भनाइ छ ।
जनता समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले भने, ‘मेडिकल माफियाका नाइकेहरूलाई, ठगहरूलाई हामी चुनौती दिन चाहन्छौं-विद्यार्थी आन्दोलनले केन्द्रबाट आन्दोलन घोषणा गरेर सबै केन्द्रीय समितिहरू आन्दोलनमा ओर्लिए भने केएमसीको यो सडक हामीलाई धेरै साँघुरो हुनेछ । हामीलाई बानेश्वरको सडक पनि साँधुरो हुनेछ । लाखौं विद्यार्थीहरू सडकमा ओर्लिएर अहिले भएका माफियाहरूलाई मात्र होइन माफियाका संरक्षकहरू, माफियाको पक्षपोषण गर्ने सबै दलका नेताहरूलाई सडकमा ल्याएर जनताकोबीचमा नाङ्गेझार पार्न पनि हामी पछाडि पर्ने छैनौं ।’
विद्यार्थी संगठनहरूले शिक्षा निःशुल्क हुनुपर्ने माग राख्दै आएका छन् । ‘मेडिकल अध्ययनका लागि ४०/४० लाखले पनि नपुगेर विभिन्न बहानामा शुल्क लिएर विद्यार्थीलाई ठग्ने गरिएको छ । यो सबै जनताको हितविपरित छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘किसान, मजदुरका छोराछोरीले मेडिकल शिक्षा लिनसक्ने स्थिति छैन । ४० लाख होइन चार हजारमा मेडिकल शिक्षा पुरा गर्ने स्थिति बनाउनका लागि विद्यार्थी आन्दोलन उद्घोष गर्न नपरोस् ।’
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेकपा एस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतनिकट विद्यार्थी संगठनहरूले विद्यार्थीको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।



Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij