रेश्मा सिंह
काठमाडौं । कक्षा १२ मा अध्ययनरत प्रकाश भण्डारी जन्मजात नै एचआईभी संक्रमित हुन् । उनी हाल कीर्तिपुरस्थित श्री सफलता एच.आइ.भी शिक्षा सदनमा विगत ११ वर्षदेखि बस्दै आएका छन् । वि.सं २०५८ मा दाङको एक सामान्य परिवारमा पहिलो सन्तानको रुपमा प्रकाशको जन्म भयोे । प्रकाशकी एक बहिनी पनि छिन् । दाजुबहिनीले एचआईभी संक्रमणको कारण बाल्यकालमै जन्मदिने आमाको मायाबाट बञ्चित हुनुपर्याे । समय बित्दै जाँदा प्रकाशका बुवाले दुई सन्तानको हेरविचार गर्न नसक्ने भएपछि दाजुबहिनीलाई मामाघर सल्यानमा पुर्याए ।
प्रकाश मामाघरमै हुँदा उनको बुवाको पनि एचआईभीको कारणले मृत्यु भएपछि उनीहरु अभिभावक विहीन भए । आमाबुवा गुमाएपछि दाजुबहिनी केही समय मामाघरको संरक्षणमा नै हुर्किए । प्रकाशको बाल्यकाल पनि अरु सामान्य बालबालिका झै बितिरहेको थियो । एक दिन गाँउतिर घुम्न जाने क्रममा भीरबाट लडेर उनको खुट्टामा चोट लाग्यो । खुट्टामा चोट लागेपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लगियो ।
‘उपचारको क्रममा एचआईभीलगायत अन्य परिक्षणहरु गरियो’, प्रकाशले पुराना दिन सम्झिँदै भने, ‘अस्पताल जाँदा मामाघरको सानीआमा साथमा हुनुहुन्थ्यो । अस्पतालमा सानिआमाले मलाई केही जानकारी दिनु भएन । तर, घर पुगेपछि सबैलाई म एचआईभी संक्रमित रहेको बताउनुभयो ।’ एचआईभी पुष्टि हुनुअघि मामासंगै सुत्ने गरेको भएपनि संक्रमित भन्ने थाहा भएपछि भने आफू र बहिनीलाईसंगै सुताएकोे तीतो अनुभव सुनाए प्रकाशले ।
गाँउघरमा एचआईभीेबारे धेरैलाई सही जानकारी नहुँदा विभेदपूर्ण व्यवहार खेप्नुपरेको थियो उनले । प्रकाशलाई एचआईभी भएको थाहा पाएपछि आफन्त, साथीभाई, छरछिमेक सबैले हेलाको दृष्टिले हेर्थे । सबैले नराम्रो व्यवहार गरेको देख्दा प्रकाशको मन भारी भएर आउँथ्यो । ‘पहिले–पहिले आफूलाई पनि एचआईभीबारे जानकारी नहुँदा नराम्रो लाग्थ्यो’, प्रकाश भन्छन्, ‘तर आजभोलि सामान्य लाग्छ । नियमित औषधि तथा स्वास्थ्य उपचारमा ध्यान दिँदा हामी पनि अन्य बालिबालिका झै सामान्य जीवन बिताउन सक्ने रहेछौं ।’ भविष्यमा सक्षम नागरिक भई आफूजस्तै एचआईभी संक्रमित बालबालिका तथा असहायहरुलाई सहयोग गर्ने उनको उद्धेश्य छ । प्रकाश एचआईभी संक्रमितमध्ये एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै नेपालमा एक हजार २६८ जना बालिबालिकाहरु एचआईभी संक्रमित छन् ।

देशभर कबिर २१ हजारले औषधि सेवन गर्दै
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकाअनुसार नेपालमा हालसम्म ३० हजार ३ सय एचआईभी संक्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ र महिला १३ हजार ९८६ जना छन् । बालबालिका एक हजार २६८ जना रहेको केन्द्रले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
देशभर सन् २०२१ को जुलाईसम्म औषधि सेवन गर्नेको संख्या २० हजार ८८३ जना रहेको छ । अनुमानित कुल एचआइभी संक्रमितमध्ये ६९ प्रतिशतले औषधि उपचार गरिरहेका छन् । हाल ६१ जिल्लाका ८३ वटा एआरटी केन्द्रमा औषधि वितरण गर्ने गरिएको केन्द्रका वरिष्ठ स्वास्थ्य अधिकृत लोकराज पाण्डेले जानकारी दिए । उनकाअनुसार देशका सबै जिल्लाहरुमा १८९ वटा एचआईभी परामर्श तथा परीक्षण सेवा प्रदान गरिन्छ ।
सन् २०२० मा ६३६ संक्रमितको मृत्यु भएको छ । सोही वर्ष ७५४ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्लो समय एचआईभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका कारण मृत्युदर घटेको पाण्डेले बताए । पछिल्लो एक दशकमा ६३ प्रतिशतले एचआईभी संक्रमित घटेको तथ्यांकमा उल्लेख छ । ८५ प्रतिशत बालबालिकाहरूमा समेत संक्रमण घटेको उनले प्रस्ट पारे ।
एचआईभीको उच्च जोखिममा रहेको समूह ?
नेपालमा एचआईभीको उच्च जोखिममा रहेको समूह सुईद्वारा लागू औषधि प्रयोग गर्ने, यौनकर्मी पुरुष, समलिगीं तथा तेस्रोलिगीं र रोजगारीको लागि विदेशिने रहेका छन् ।
विदेश गएकामध्ये पनि भारत गएका नागरिकमा एचआईभी संक्रमणको उच्च जोखिम रहेको डा. पवनकुमार शाहले जानकारी दिए । उनकाअनुसार माथि उल्लेखित जोखिम समूहमध्ये पनि लागूपदार्थको प्रयोग र पुरुष समलिङ्गी यौनकर्मीहरुमा संक्रमणदर अन्यको तुलनामा बढी रहेको छ ।
सन् २०२० मा गरिएको एक सर्वेक्षणअनुसार नेपालमा सुईद्वारा लागूऔषध प्रयोग गर्ने ३ प्रतिशतका दरले एचआइभी संक्रमण रहेको छ । यसैगरि सन् २०१७ को अनुसन्धानअनुसार महिला यौनकर्मी २.२ प्रतिशत र पुरुष समलिगींहरुमा ६.२ दरले संक्रमणको रहेको पाइएको छ ।
घट्दो क्रममा एचआईभी संक्रमणदर
विगत १० वर्षको तथ्याङ्क हेर्दा नेपालमा एचआइभी एड्स संक्रमणदर घटेको अध्ययनले देखाएको छ । केन्द्रले विश्व एड्स दिवसको अवसरमा मंगलबार ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा १० वर्षको अन्तरमा संक्रमणदर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा. सुधा देवकोटाले जानकारी दिइन् । ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस आज (बुधबार) मनाइँदै छ ।
सन् २०१० मा २१५ जना बालबालिकामा संक्रमण रहेकोमा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा यो संख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij