टोकियो । जापानको एक अदालतले बुधबार समलैंगिक विवाहमाथि प्रतिबन्ध लगाउनु असंवैधानिक भएको फैसला गरेको छ । समलिंगी विवाहलाई पूर्णरुपमा मान्यता नदिने जी ७ समूहमा जापान एक मात्र देश हो । यो फैसला जापानको एक जिल्ला अदालतले गरेको हो । यसलाई जापानमा पहिलोपटक समलैंगिक विवाहको प्रतीकात्मक जितका रुपमा हेरिएको छ ।
जापानको संविधानमा विवाहको परिभाषा महिला र पुरुषको आपसी सहमतिको रुपमा गरिएको छ । एलजिबिटी समूहले अदालतको फैसलाको स्वागत गरेका छन्, उनीहरुले आफ्नो जीवनमा यसले सकारात्मक असर पार्ने प्रतिक्रिया दिएका छन् ।
म्यारिज फर अल जापान संगठनका निर्देशक गोन मतसुनाकाले समाचार एजेन्सी रोयटर्ससँग अदालतको यस फैसलाले आफू निकै उत्साहित भएको बताए । तर एशियाका अन्य देशको तुलनामा समलिंगीको मुद्दामा जापानलाई बढी उदार मानिन्छ । तर विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको जापानमा एलजिबिटी समुदायको खासै विकास भएको छैन । त्यहाँ यी समुदायलाई सामाजिक स्वीकार्यता छैन ।
वर्तमान कानुनअनुसार समलैंगिक विवाह प्रतिबन्धित छ । आफ्नो पार्टनरको सम्पत्तिमा उत्तराधिकारीको अधिकार पाउँदैनन, समलिंगीहरु विपरितलिंगीले पाउने कतिपय अधिकारबाट बञ्चित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij