वेबटिभी खबर
फ्लोरिडा । पृथ्वीको कक्षमा तीन दिनसम्म यात्रा गरेपछि इन्स्पिरेसन ४ का चार अन्तरिक्ष यात्री पृथ्वीमा सफलतापूर्वक अवतरण गरेका छन् । उनीहरुले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे एटलान्टिक महासागरमा अवतरण गरेका हुन् । अन्तरिक्ष यात्रामा गएका सबै गैर पेशेवर यात्री हुन् ।
इन्स्पिरेसन ४ नाम दिइएको यस मिसनका लागि स्पेसएक्स क्याप्सुलमा अन्तरिक्ष यात्रीहरु बुधबार अमेरिकाको फ्लोरिडाबाट उडेका थिए । नासाको फ्लोरिडास्थित क्यानेडी स्पेस रिसर्च सेन्टरबाट फाल्कन-९ रकेटमार्फत उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो ।
यस मिसनको नेतृत्व अर्बपति व्यापारी जेयर्ड इसाकम्यानले गरेका थिए । यी अन्तरिक्ष यात्रीले ५७५ किलोमिटरको उचाईमा पृथ्वीको कक्षमा तीन फन्को घुमेर फर्किएका हुन् । मेरिकाको टेनेसीस्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि कोष संकलन गर्ने उद्देश्यले यो मिसन गरिएको हो ।
सन् २००९ पछि पहिलोपटक मानिसहरु यो उचाईमा गएको पहिलोपटक हो । मे २००९ मा वैज्ञानिक हबल टेलिस्कोपको रिपेयरिंगका लागि ५४१ किलोमिटरको उचाईमा पुगेका थिए । इन्टरनेसनल स्पेस स्टेसनमा अन्तरिक्ष यात्री आउनेजाने क्रम भइरहन्छ । तर त्यो केन्द्र ४०९ किलोमिटरको उचाईमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij