वेबटिभी खबर
काठमाडौं । झापाका व्यवसायीले १ भदौबाट बिहान ६ देखि साँझ ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । जिल्लाभरका उद्योग वाणिज्य संघका प्रतिनिधिको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस्तो माग राखेको हो ।
लामो समयदेखि व्यापार व्यावसाय ठप्प हुँदा दैनिक आर्थिक व्यवहार चलाउन गाह्रो भएको भन्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर व्यापार, व्यावसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
व्यवसायीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई व्यवसाय सञ्चालनको समयवधिमा अनुमगन र भिडभाड नियन्त्रण गरिदिन पनि आग्रह गरेका छन् ।
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १३ साउनबाट बिर्तामोड र १६ साउनबाट साउन महिनाभरका लागि जिल्लामा पूर्ण निषेधाज्ञा गरिए पनि संक्रमणको दरमा कमी आएको छैन । निषेधाज्ञाले व्यापार, व्यावसाय ठप्प भए पनि कोभिड संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले स्वास्थ्य क्षेत्रले यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
आइतबार व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिनासँगको छलफलमा कोभिड नियन्त्रणका लागि बजार बन्द गरे पनि उल्लेखनीय उपलब्धी हासिल हुन नसकेको बताए ।
लामो समयदेखिको बन्दाबन्दीको कारण व्यवसाय धरासायी बन्दै गएकाले वैकल्पिक उपायका लागि योजना अघि सारिदिनुपर्ने व्यवसायीको माग छ ।
‘एकातिर संक्रमण रोकथाममा कुनै पनि उपलब्धि नहुनु र अर्को तिर उद्योगी व्यवसायी दिनानुदिन धरासायी बन्दै जाने अवस्थाले दोहोरो समस्या निम्त्याएको छ । अब यी दुवै समस्याको हल हुने गरी वैकल्पिक उपाय अपनाउनु पर्दछ,’ उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिमिल्सिनाले भने ।
कोभिड नियन्त्रणका लागि आवश्यक सुरक्षा अपनाउँदै व्यवसाय सञ्चालनको वातवरण निर्माण हुनुपर्ने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको भनाइ छ ।
सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन कार्यदल (डिसीसीएमसी) को बैठक बसेर व्यवसायीको माग सम्बोधन गरिने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख तिमिल्सिनाले प्रतिबद्धता व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij