वेबटिभी खबर
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् । शनिबार पीपी प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा.यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए ।
यादवले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो । जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए । तर, जब राज्यले जिम्मा लियो-राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो । आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन्, अंग्रेजीको भए नेपालीको छैन् । यो हालत छ ।’ समारोहमा उत्कृष्ट शिक्षकहरूको छनोटमा मधेशबाट एक जना पनि नपरेकोप्रति डा.यादवले गम्भीर चिन्ता व्यक्त गरे । विगतमा देशभरका पहाडी भेगसम्म गणित र अंग्रेजी पढाउन मधेशकै शिक्षक पुग्ने गरेको इतिहास स्मरण गर्दै उनले अहिलेको अवस्थाले आफूलाई दुःखी बनाएको बताए ।
‘पुरस्कार वितरणमा मधेशको पालो आउँदा एक जना शिक्षक पनि छनोटमा परेनन् । आयोजकलाई सोध्दा क्राइटेरिया नै पुगेन भन्नुभयो । मलाई चसक्क लाग्यो । कुनै समय देशभरिका पहाडमा गणित र अंग्रेजी पढाउने शिक्षक मधेशबाटै जान्थे, आज त्यहाँको अवस्था क्राइटेरियामा समेत नआउने कस्तो बन्यो ?,’ यालवले भने । आफ्नो डाक्टरी अध्ययनको समय स्मरण गर्दै डा.यादवले कलकत्तामा ७० को दशकको नक्सलाइट आन्दोलन र अशान्तिका बीच प्राध्यापक डा.हरिदास बनर्जीले देखाएको कर्तव्यनिष्ठाको प्रसंग सुनाए । जादवपुर विश्वविद्यालयका उपकुलपतिको हत्यापछि पूरै शहर स्तब्ध हुँदा पनि डा। बनर्जी विद्यार्थी पढाउन एनाटोमी हलमा पुगेको घटना उनले स्मरण गरे ।
‘त्यतिबेला हड्ताल र हिंसाका बीच पनि कलेज आएका प्राध्यापक बनर्जीले भन्नुभएको थियो-‘काटमार गर्नेको काम राजनीति र काटमार नै होला, तर मेरो काम भोलि मानिस बचाउने असल डाक्टर बनाउनु हो ।’ शिक्षकहरू त्यस्तै हुन् । तपाईंहरू यस्तो फ्याक्ट्री हुनुहुन्छ, जसले देश, समाज र संसार बनाउने असल मनुष्य तयार गर्छ,’ उनले भने । डा.यादवले पछिल्लो समय जलवायु परिवर्तन र मानवीय दोहनका कारण प्राकृतिक विपद् बढेको भन्दै वातावरण संरक्षणमा सचेत हुन आग्रह गरे । हाम्रा पहाडहरू भत्किँदै गइरहेको र विश्व नै वातावरणीय संकटतर्फ धकेलिएको भन्दै उनले प्रकृति र वातावरण शिक्षामा नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij