वेबटिभी खबर
काठमाडाै । ओलीको एक पक्षीय निर्णयले पाँच महिनादेखि जारी एमाले विवाद अब विभाजनतिर उन्मुख भएको नेपाल समूहले निष्कर्ष निकालेकाे छ । एकताका लागि वार्ता प्रयास जारी रहेका बेला ओली पक्षले सोमबार केन्द्रीय कमिटीबाट विधान संशोधन मस्यौदा पारित गरेपछि एमालेमा एकताको प्रयास कमजोर र विभाजनको सम्भावना बलियो बनेको एक नेताले बताए । उनले भने, ‘ओली एकता चाहँदैनन्, पार्टी विभाजन नै चाहन्छन् भन्ने सोमबारको निर्णयले पुष्टि गरेको छ, यस्तो अवस्थामा हामी पनि चुप लागेर बस्ने कुरा हुँदैन हामी हाम्रा गतिविधि देशभर सक्रिय बनाउँछौ ।’
यस्तै आफु निकट स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँगको छलफलमा माधव नोपालले अब समानान्तर गतिविधि अगाडि बढाउन निर्देशन दिएको स्रोतले बताएको छ । नेपालले निकट नेताहरुसँग भने ‘हामीले अब समानान्तर गतिविधि निरन्तर जारी राखेरै जानुपर्छ । यदि केपी ओली हामीलाई एउटा कित्तामा पुर्याउन खोज्छन् भने हामी विकल्पको निम्ति तयार हुनुपर्छ ।’
यता ओली पक्षले भने नेपाललाई समान हैसियतको अध्यक्ष दिन नसकिने निष्कर्षसहित एकताका नाममा समय नखर्चने रणनीति बनाएको छ । ओली पक्षका एक स्थायी कमिटी सदस्यका अनुसार अध्यादेशको बलमा नेता नेपालले नयाँ पार्टी बनाउने प्रयास गरेकाले संस्थापन पक्षले सङ्गठनात्मक गतिविधि सहितको पुनर्संचनाका लागि विधान संशोधनको पहल थालेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij