वेबटिभी खबर
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईंको मास्क खोइ’ ? अभियान सुरु गरेको छ ।
शनिबारदेखि अभियान सुरुभएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरीएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेका हुन् ।
केही दिनअघिबाट सुरुभएको अभियान निरन्तर रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
सदरमुकाम सिमकोटसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईंको मास्क खोई’ ? अभियान सुरु गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
सदरमुकाम सिमकोटको बजार क्षेत्रमा प्रहरीले दैनिक कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । साउन महिना सुरु भएसँगै हुम्लामा कोभिड–१९ को सङ्क्रमण दर उकालो लागेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij