वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले निजी स्वामित्वको जमिन हुँदासमम सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने तर्क गरे ।
‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समधान हुँदैन्,’ उनले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मुल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौं । अब यो गलत बाटोमा जानुहुँदैन ।’
उनले नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको उदाहरण पेश गर्दै जमिन बाँडेर यो समस्या समाधान नहुने जिकिर गरे ।
‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने गर्यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’
भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने गौतमको भनाइ छ ।
‘झण्डै २८ वर्षको अवधिमा हामीले समस्या समाधान गर्छौं भनेका आयोगले किन गर्न सकेनन् ?,’ उनको भनाइ छ, ‘यो बाटो नै गलत छ ।’
अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा गठित भूमिसम्बन्धी समस्या समाधान आयोगलाई वर्तमान सरकारले मंगलबार मन्त्रिपरिषद्को बैठकले खारेज गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij