वेबटिभी खबर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा दार्चुला घटना लगायत अन्य घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको उल्लेख गरे ।
समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने पनि उनले धारणा राखे । समिति गठन भइसकेको अवस्थामा यस बिषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उनको भनाइ छ । उनले घटनाको प्रत्यक्षदर्शीसँग पनि कुराकानी भइरहेको बताए । गृहमन्त्री खाँणले महाकाली नदिमा झोलुङ्गे पुल बन्ने काम सुरु भइसकेको जानकारी दिए ।
यस्तै उनले मनसुन कारण बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट विभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना बेपत्ता भएको जानकारी गराए । बाढीका कारण क्षतिको मुल्याङ्कन गरी पुनः निर्माणको काम सुरु गर्न निर्देशन दिइसकेको उनले बताए । उनले प्राकृतिक विपतसँग सामना गर्दै जनताको जिवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गरे । यस्तै सांसद कोमल वलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र निन्दनीय घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गरिन् ।
यस्तै बैठकमा गृहमन्त्री खाँणले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रविदासको विषयमा पनि आवश्यक अनुसन्धान भइरहको जानकारी गराए । मन्त्री खाँणले रविदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आफूसमक्ष आएको पनि बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij