एजेन्सी
नयाँ दिल्ली । बाक्लो कुहिरोका कारण गएराति भारतको उत्तर प्रदेश राज्यमा पर्ने यमुना एक्सप्रेस वे (आगरा–नोयडा खण्ड)मा सवारीसाधनहरू आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य दुई दर्जन घाइते भएका छन् ।
तीव्र गतिमा गुडिरहेका सात वटा बस र दुई वटा कार बाक्लो कुहिरोका कारण ठोक्किएर दुर्घटनामा परेका थिए ।
तीव्र गतिमा ठोक्किएका कारण ती सवारीमा आगलागी पनि भएको थियो । आगोमा जलेको अवस्थामा चार वटा शव भेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीपछि धेरै यात्रु बसबाट हामफालेर जोगिएका थिए ।
घटना बलदेव प्रहरी चौकी क्षेत्रको खादेहरा गाउँ नजिकैको १२५ नम्बर माइलस्टोनमा भएको थियो । राति निकै बाक्लो कुहिरो लागेका कारण अगाडि र पछाडि यात्रा गर्ने सवारी साधनका चालकहरूले एकअर्कालाई देख्न सकेनन् र सवारी साधनहरू ठोक्किएका थिए ।
लगभग एक दर्जन दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । दुर्घटनापछि आगरा–नोएडा एक्सप्रेस वे लेनमा आवागमन पूर्ण रूपमा रोकिएको थियो । क्रेनको प्रयोगले सडकमा रोकिएको सवारी छेउमा सारेर बाटो खुलाउने काम भइरहेको छ ।
त्यहाँका एसएसपी श्लोक कुमारले चार यात्रुहरूको जलेर मृत्यु भएको र ठूलो संख्यामा मानिसहरू घाइते भएका जानकारी दिए । घाइतेलाई अस्पताल लैजान २० भन्दा बढी एम्बुलेन्स प्रयोग भएका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा जानकारी पाए लगत्तै मृतकका परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्न र घाइतेहरूलाई राम्रो उपचार प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । (एजेन्सी)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij