सुर्खेत । दैलेखको आठबीस नगरपालिका-३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् ।
दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् ।
वडाअध्यक्ष प्रयागबहादुर शाहीकाअनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।
‘उनी आइतबार राती नै घरबा निस्किएको थाहा भयो । श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ,’ वडाअध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’
मध्यपहाडी लोकमार्गको अछाम जोडने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताए ।
दुई छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij