वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसदीय दलको नेताको चुनाव १६ साउनमा गर्ने भएको छ । बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो ।
संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । प्रतिनिधिसभामा जसपाका जम्मा ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।
मंगलबारदेखि चरणवद्ध रुपमा बस्दै आएको कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदी चयन भएका छन् ।
यस्तै अनुशासन आयोगको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि अनुशासन आयोगमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा देखिएपछि उपेन्द्र यादवपक्षबाटै आयोगमा चौधरीलाई राखिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij