काठमाडौं । मन्त्रिपरिषद् विस्तारलाई टुंगो लगाउन सत्ता साझेदार नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ वानेश्वरको एक बैंक्वेटमा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । ती नेताहरुहरुले मन्त्रीको भागबन्डा मिलाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम पठाउने छन् ।
मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ७ र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षले ७ मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको भेटवार्तामा देउवाले उनलाई मन्त्रीको नाम सर्ट लिस्ट गरेर चाँडै टुंगो लगाउन आग्रह गरेका छन् । नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् ।
यस्तै माओवादी अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टी, नेपाल ९जसपा०बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच वानेश्वरमा आन्तरिक छलफल भएको हो । एमाले एकता प्रयास जारी रहेकाले नेपालले भने सरकारमा सहभागी गराउने मन्त्रीको नाम केही दिनमा मात्रै टुंगो लगाउने भएका छन् । तर बुधबार आफूपक्षका २२ सांसदसँग छलफल गरेका नेपालसमक्ष ती सांसदहरुले गठबन्धनलाई साथ दिँदै सरकारमा जान दबाब दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij