वेबटिभी खबर
म्याग्दी । विगतका वर्षमा साउने सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दथ्यो ।बेनी शिवालयसहित जिल्लाका विभिन्न ठाउँस्थित देवालयमा पूजा गर्ने र कालीगण्डकी नदीमा स्नान गर्नेको ठेलमठेल हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन ।
असारको पहिलो सातादेखि कम हुँदै गएको कोरोना सङ्क्रमण साउन सुरु भएदेखि पुनः बढ्न थाल्नु, किसानलाई रोपाइँको चटारो हुनु, यातायातका साधन पनि राम्रोसँग सञ्चालन हुन नसक्नु र निषेधाज्ञा कायमै रहनु जस्ता कारणले गर्दा देवालय वा शक्तिपीठमा भक्तजनको उपस्थिति नदेखिएको हो ।
म्याग्दीको बेनी, गलेश्वरलगायत ग्रामीण क्षेत्रका कुनै पनि शिवालय र शक्तिपीठहरुमा भक्तजन देखिएका छैनन् । दिनभर पूजाआजाका लागि भक्तजनको भीडभाड हुने यहाँका शिवालय र शक्तिपीठ अहिले सुनसान जस्तै छन् ।
मन्दिरमा पुजारी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीबाहेक अरु व्यक्तिको उपस्थिति न्यून रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।
सोमबारकै दिन म्याग्दीका ग्रामीण भेग र पर्वत, बागलुङ तथा पोखराबाट गाडी लिएर वा बसमा चढेर पूजाआजाका लागि गलेश्वरमा आउने भक्तजनका कारण यहाँका मन्दिर नजिकका पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे ।
बजारको व्यापार र होटल तथा यातायात व्यवसाय पनि चलायमान हुन्थ्यो । महिला हातभरी हरिया चुरा तथा उस्तै रङका पहिरनमा सजिएर बजारमा डुल्ने गर्दथे ।
बजारमा हरिया चुरा र पूजा सामग्रीको अत्याधिक व्यापार हुन्थ्यो तर गत वर्ष र यस वर्षको दोस्रो सोमबारसम्म बजारमा पनि त्यस्तो कुनै रौनक नदेखिएको स्थानीय व्यवसायी पार्वती घिमिरेले बताइन् ।
कोरोना महामारीले शैक्षिक, आर्थिक, सामाजिक विकासलगायत अन्य धेरै क्षेत्रमा झैं धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि गम्भीर असर पारेको बेनी शिवालय क्षेत्र विकास समितिका सुन्दरकुमार केसीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij