वेबटिभी खबर
काठमाडौं । विभिन्न प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट ५१ लाख ९० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।’
पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij