वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण गर्नुपर्ने बताएका हुन् ।
शाहले भने, ‘नेपाल सरकारले निरन्तरता दिएको असंलग्न परराष्ट्र नीति र भारत पाकिस्तान युद्धबिरामको स्वागत गर्दछु । पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पु¥याइरहेको कुरा सर्वविदितै छ । यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ । उक्त सम्भावनालाई मूर्त रुप दिन निम्न प्रस्तावहरूमा सरकार गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
यसैगरी उनले विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवर्द्धन गर्नुपर्ने बताए । उनले रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत सरकरालाई आग्रह गरे ।
शाहले भने, ‘पेट्रोलियममा चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक कानूनी, प्राविधिक तथा नीतिगत व्यवस्था निर्माण गर्न रूपान्तरण प्रक्रियामा लाग्ने लागतलाई सहज बनाउनका लागि अनुदान, कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था । रूपान्तरण तथा मर्मतसम्भारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा प्राविधिक शिक्षाको व्यवस्था विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार निर्माण तथा विस्तारमा निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य प्रवर्द्धन । उपरोक्त कदमहरूले नेपालको वातावरणीय, आर्थिक, तथा सामाजिक लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान पुर्यनउने छन् । तसर्थ, उक्त विषयलाई राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गरी आवश्यक नीतिगत तथा कानूनी प्रावधानको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij