वेबटिभी खबर
पाल्पा । पाल्पा औलोको उच्च जोखिममा रहेको छ । कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोका कारण जिल्ला उच्च जोखिममा परेको हो ।
जिल्लामा हरेक वर्ष औलो सङ्क्रमित बिरामी भेटिने गरेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको पछिल्लो छ वर्षको तथ्यांक अनुसार यहाँ २५ जनामा औलो पुष्टि भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा दुई, आव २०७७/७८ मा एक, आव २०७८/७९ मा एक, आव २०७९/८० मा पाँच, आव २०८०/८१ मा सात र चालु आवको हालसम्म नौ जना बिरामीमा औलो फेला परेका स्वास्थ्य कार्यालयका औलो रोग कार्यक्रमका फोकल पर्सन एवं वरिष्ठ ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २५ मध्ये २४ जना आयातित औलोबाट सङ्क्रमित बिरामी हुन् ।
‘गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय औलोबाट संक्रमित भएका थिए । बाँकी सबै भारतबाट आउनेहरूमा देखिएको हो’, उनले भने । चालु आवको चैतसम्म नौ जना औलोका बिरामी भेटिएका छन् ।
फोकल पर्सन भट्टराईले यहाँका छ स्थानीय तहमा औलोका बिरामी फेला परेका बताए । उनका अनुसार माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाका एक/एक जनामा औलो पुष्टि भएको हो ।
कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरूमा औलो देखिने क्रम बढेसँगै आयातित औलोबाट संक्रमित बिरामीको संख्या पनि बढ्दै गएको उनको भनाइ छ ।
विशेष गरी महाराष्ट्र, दिल्ली, गुजरातबाट आएकामा देखिएको भट्टराईले जानकारी दिनुभयो । खुला सिमानाका कारण दैनिक भारत आवतजावत गर्नेहरू औलो संक्रमित भई नेपाल आउने र उनीहरूबाट अरूमा सङ्क्रमण फैलिने जोखिम बढेको उनले बताए ।
फोकल पर्सन भट्टराईले जिल्लामा बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट सङ्क्रमित हुने बिरामीको संख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौती थपेको हो ।
‘पाल्पामा स्थानीय मलेरियाका बिरामी देखिनु, आयातित औलोका बिरामी बढ्दै जानु, कीटनाशकयुक्त झुल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाइ, आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरूको अभाव, मलेरिया टेस्टकीट आवश्यकताअनुसार प्राप्त नहुनुलगायत कारणले औलो निवारणमा थप चुनौती थपिएको छ’, उनले भने ।
औलोबाट गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुने स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।
उनले सङ्क्रमितलाई स्वास्थ्य कार्यालयले विशेष निगरानी बढाएको बताए । उनका अनुसार सरकारी स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलब्ध हुँदै आएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औलो बिरामीको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सीमानाका तथा समुदायमा शंकास्पद बिरामीको रक्त परीक्षण तथा रोगबारे सचेतना, जोखिमयुक्त क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक विषादी छिड्काउलगायत कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
सामान्यतया तराईका जिल्लामा बढी देखिने औलो रोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij