Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चितवन नेपाल सुपर लिगको प्ले अफमा

चितवन नेपाल सुपर लिगको प्ले अफमा

  • 129
    SHARES
  • चितवन नेपाल सुपर लिगको प्ले अफमा

    काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३-१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो ।

    चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । यता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे ।

    खेलको सातौँ मिनेटमा जर्जप्रिन्सको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । नेदिरले खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याए । छिरिङ गुरुङको प्रहार बक्स भित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनाल्टीमा अवसर पाएको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन २-१ ले अगाडि बढ्यो । उनले छिरिङको क्रसलाई पोस्टको दिशा दिए ।

    त्यसैगरी अमृत श्रेष्ठबाट खेलको ५४औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा चिवतनले ३-१ को अग्रता लियो । भिक्टर मानसारेको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।  जितसँगै ६ खेलमा १० अंक जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा रहे ।

    चितवनको यो जितसँगै काठमाडौँ रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ । चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अंक रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो । अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् । 

  • सम्बन्धित विषय:

  • # चितवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij