वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको दाबी गरेका छन् ।
शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग कुरा गर्दै उनले भारत र बंगलादेशसँग भएको व्यापार सम्झौता नेपालको समृद्धिको सपना पुरा गर्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो ।’
उनले थप भने,‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’ भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने पनि बताए ।
उनले अहिलको सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्नेगरी हस्तक्षेप बढाएको टिप्पणी गरे । उनले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुनेगरि अध्यादेश ल्याएका ल्याएपनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij