वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति विचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरु विचौलियाको भूमिकामा रहेको आरोप लगाए । उनलेरातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा रहेका राजनीतिक दलका नेताहरुको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालहरुको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर विचौलियाहरुले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौंनत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरुभन्दा बाहेक केही पनि देखिएन ।’
उनले दलाल विचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दैअब आफुहरुले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए । अध्यक्ष प्रचण्डले भने,‘सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरुको पनि आत्मसमीक्षा गर्याैं । दलाल विचौलियाहरुले त आफ्नो संख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।’
अध्यक्ष दाहालले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij