वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदले स्वाविवेक प्रयोग गर्न पाउनुपर्ने बताएका छन् । देउवालाई विश्वासको मत नदिन ह्वीप लगाउने पार्टीको निर्णय गलत रहेको गौतमको प्रतिक्रिया छ ।
सर्वोच्च अदालतको परमादेश वमोजिम सांसदलाई स्वविवेकीय अधिकार रहेको उनको भनाइ छ । ‘संविधानको धारा ७६ (५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासको व्याख्या भएपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ,’ गौतमलाई उदृत गर्दै प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘कुनै पार्टीले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यहाँ नै लोकतान्त्रिक अभ्यास हुन्छ ।’
१८ असारमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर गौतमले आफू सधैं एमाले (ओली पक्ष) मै रहने बताएका थिए । तर शुक्रबार र आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकमा उनी अनुपस्थित भए ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने चर्चा चलिरहे पनि प्रतिनिधिसभामा गौतमनिकट एकजना मात्र सांसद छिन् उनकै पत्नी तुलसा थापा टोकियो ओलम्पिकमा सहभागी हुन जापान गएकी छिन् । आइतबार बसेको एमालेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय दोहोर्याउँदै यदि विश्वासको मत दिए उनीहरु एमाले नै नरहने निर्णय गरेको छ ।
केही बेरमा बस्ने प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij