वेबटिभी खबर
काठमाडौं । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आजदेखि सुरु भएको छ ।
आइतबार एक समारोहकाबी महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरका विभिन्न १६ वटा केन्द्रमा संचालन हुने फेस्टिबल क्याम्पको संयुक्त रुपमा उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि चाडवाडको छेको पारेर क्याम्प सुरु गरिएको बताइन् ।
उपप्रमुख डंगोलले भनिन्, ‘काठमाडौं महानगरपालिकाले १६ वटा विभिन्न विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थीका लागि फेस्टिवल क्याम्प सुरु गरेका छौं । महानगरले गर्ने विभिन्न नयाँ आयामका कार्यक्रममध्ये यो पनि एक हो । यसअघि बुक फ्रि फ्राइडे कार्यक्रममा समेत उत्साहजनक सहभागिताका साथ प्रभावकारी कार्यान्वयन भएको छ । रचनात्मक शिक्षाको प्रवर्द्धनका लागि भनेर चाडवाडको छेको पारेर क्याम्प सुरु गर्न लागेका हौं ।’
क्याम्पमा नियमित रुपमा संचालन हुने लेक्चरबेस क्लास नभएर सिर्जनात्मक शिक्षालाई प्रवर्द्धन गर्ने महानगरको तयारी रहेको डंगोलले बताइन् । क्याम्पमा गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्नेगरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् । क्याम्पमा महानगरपालिकाभित्रका १० कक्षामा अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुने महानगरले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij