Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रिय सभा अध्यक्ष जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटवार्ता

  • 122
    SHARES
  • राष्ट्रिय सभा अध्यक्ष जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटवार्ता

    जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो ।

    भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

    अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको जनाए । सो अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

    संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको बताए ।

    जनप्रतिनिधिमार्फत् विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरु अभिव्यक्त गर्न सकिने साझा मञ्चको रुपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्व विश्वमा झनै बढ्दै गइरहेको जनाए । सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा तुलिया अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।

    नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए । आइपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने जनाए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij