वेबटिभी खबर
काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्न छलफल भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच छलफल भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापना भन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए । अहिले सडक मर्मत गर्नुपर्ने र यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भइरहेको अध्यक्ष स्वाँरले जनाए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायतका प्रतिनिधिहरुले बीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारीसाधनमात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न माग गरेका थिए ।
छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij