याङगुन । म्यान्मारले भारतसँग सेनाको आदेश अस्वीकार गरेर सीमा पार गरी भारतमा शरण लिन पुगेका प्रहरीहरुलाई फिर्ता गर्न आग्रह गरेको छ । भारत सरकारलाई एक पत्र लेखेर म्यान्मारका अधिकारीले दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध बनाइराख्नका लागि प्रहरीहरुलाई फिर्ता गर्न भनेको छ ।
पत्रअनुसार हालसम्म म्यान्मारका आठ प्रहरी अधिकारी सीमा पार गरेर भारत पुगेका छन् । भारतीय अधिकारीले म्यान्मारका केही अधिकारी र उनीहरुको परिवार भारत आएको बताएका छन् । भारतीय राज्य मिजोरमको चम्पाइ जिल्लाका एक वरिष्ठ अधिकारी डेप्युटी कमिश्नर मारिया सिटी जुआलीले म्यान्मारको फालाम जिल्लाका आफ्ना समकक्षीबाट एक चिठी प्राप्त भएको र त्यसमा प्रहरीलाई फिर्ता गर्न अनुरोध गरिएको बताइएको छ ।
म्यान्मारमा गत महिना सेनाले सत्ता विद्रोह गरेपछि देशभर आन्दोलन चर्किरहेको छ । हालसम्म त्यहाँ सुरक्षाबलको गोलीबाट ५० भन्दा बढी मानिस मारिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij