वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको बैठक ३ साउनमा डाक्न बिहीबार बसेको मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।
अदालतकाे आदेशले दाेस्राेपटक पुनर्स्थापित प्रतिनिधिसभाकाे याे पहिले बैठक हुनेछ । यसअघि ५ पुसमा सरकारले विघटन गरेकाे प्रतिनिधिसभा ब्युँताउँदा पनि अदालतले दिन ताेकेर संसद बैठक डाक्न आदेश दिएकाे थियाे । संसद बैठक सरकारकाे सिफारिसमा राष्ट्रपतिले डाक्नु पर्छ ।
संक्रमणकालीन न्याय हेर्ने दुई आयोग र पदाधिकारीको म्याद एक वर्ष थपियो
त्यसैगरी मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थप गरेको छ ।
आयोगसँगै पदाधिकारीको म्याद १ वर्ष थप गरिएको प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद आज सकिँदै थियो । पछिल्लोपटक अध्यादेशमार्फत २३ माघमा आयोगको म्याद ६ महिनालाई थपिएको थियो ।
मन्त्रिपरिषद्को ६ माघ २०७६ मा बसेको बैठकले सत्य निरूपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता छानविन आयोग अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
एक वर्षलाई नियुक्त भएका उनीहरूको म्याद सकिएपछि यसअघि उनीहरूको म्याद दुईपटक थपिएको थियो । द्वन्द्वकालीन मुद्दाको निरुपण गर्न साढे ६ वर्षअघि दुई आयोग गठन भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij