वेबटिभी खबर
काठमाडौं । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ ।
गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार रास्वपाको बाग्मती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय पचास हाराहारी सहभागी छन ।
‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्य(मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबरलिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत समूहलमा छलफल भइरहेको छ। भोलि आउने समूहगत छलफलको निश्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बाग्मती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेले जानकारी दिए ।
बाग्मती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहेका छन । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ ।
‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ।’ अन्य प्रदेशमा भने भोलि र पर्सी ‘क्लोज क्याम्प’ हुँदैछ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij