वेबटिभी खबर
काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक ६४.२५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।
आज एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको छ । यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारसँगै नेप्से परिसूचकले पनि नयाँ रेकर्ड बनाएको छ । लगातार २७ सयको बिन्दु तोड्ने प्रयास गरेको नेप्से परिसूचकले अन्ततः यो विन्दु पार गरेको छ ।
आज १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २।१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।
यस दिन १४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी, नेपाल रिपब्लिक मिडिया, कुथेली बुकरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, प्रोग्रेसिभ फाइनान्स, ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स र फस्र्ट माइक्रोफाइनान्सको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।
आज आत्मनिर्भर लघुवित्तको ६.५, उपकार लघुवित्तको ५, एसियन हाइड्रोपावरको ४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी, शिवम् सिमेन्ट, नेपाल फाइनानस र अपी पावर क्रमशः अगाडि रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij