Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व संकलन

वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व संकलन

  • 117
    SHARES
  • वीरगञ्ज महानगरबाट ६१ करोड ४७ लाख राजस्व संकलन

    पर्सा । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व संकलन गरेको छ । महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो ।

    महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व संकलन गरेको बताए ।

    ‘आर्थिक मन्दिले करदाता  पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ’, महाशाखा प्रमुख कर्णले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।’

    राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ’, महाशाखा प्रमुख कर्णले भने। 

    महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा  महानगरले २० करोड छ लाख ८४ हजार राजस्व संकलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ ।

    महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij