वेबटिभी खबर
तनहुँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व भएको छ ।
विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
‘म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकालगायत क्षेत्रमा गरी १५ भन्दा बढी विद्युत् पोल ढालेर क्षति पुगेको छ’, उनले भने ।
व्यास नगरपालिका-१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको उनले बताए ।
यसैगरी व्यास नगरपालिका-४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी छ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ ।
ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ ।
सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुईवटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरु भएको रेग्मीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij