वेबटिभी खबर
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकै बेला साेमबार साँझ वरिष्ठ नेता माधव नेपाल पक्षका नेता भीम रावल पनि पुगे ।
रावल बैठक बसीरहेको बेला पुगेपछि ओली पक्षको बैठकमा उनी पनि सहभागी भएको हल्ला चल्यो । रावल एमालेमा एकता कायम गर्न गठन भएको कार्यदलमा माधव नेपाल पक्षका संयोजक हुन् । उनी बैठकस्थलमा पुग्नुले अचानक अनेक अडकल सुरु भएका थिए ।
तर बैठक स्थलबाट रावल केही बेरमै निस्किए । बैठक स्थलबाट बाहिरिएपछि उनले कार्यदलले हिजो तयार पारेको १० बुँदे सहमति पत्र पार्टी अध्यक्षलाई बुझाउन आएको बताए ।
'हामीले तयार पारेको सहमतिकाे प्रतिवेदन नेतृत्वलाई बुझाउने कार्यक्रम अन्तर्गत अध्यक्षलाई बुझाउन आएको हुँ,' उनले संचारकर्मीसँग भने, 'स्थायी कमिटीको बैठकबारे मलाई केही थाहा छैन् ।'
उनले सहमतिलाई इमानदारीपूर्वक पालना गर्न अध्यक्षलाई आग्रह गरेको पनि बताए ।
ओलीले डोकेको बैठकमा भने सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अनौपचारिक छलफल भएको छ । त्यसैगरी भोलि डाकिएको केन्द्रीय कमिटी बैठकका बारेमा पनि के गर्ने भनर छलफल भएको एक नेताले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij