Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

  • 209
    SHARES
  • बाढीका कारण एक सय २५ भन्दा बढी परिवार विस्थापित

    संखुवासभा । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् ।

    पहिरोले खाँदबारी- ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

    पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका-२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।

    खाँदबारी नगरपालिका- ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिनुभयो । खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् ।

    डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी-४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

    वर्षा धेरै भएकाले नदी किनारा, भिरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ ।

    उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तीमा तीन करोड बढीको क्षति पारेको अनुमान गरिएको जनाइएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा भइरहेको छ ।

    त्यस्तै चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे-नुम र ठूलोढुङ्गा-अरुणथान सडकखण्डमा भएको अवरूद्ध हटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij