रासस
क्यानबेरा । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले अष्ट्रेलियाको सरकारलाई चेतावनी दिएको छ ।
एउटा शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताए ।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ । शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू रहेको उनले बताए ।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या फेब्रुअरीमा सात लाख नाघेपछि मे महिनामा सत्तारुढ लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्ने योजना घोषणा गरेको थियो ।
अष्ट्रेलियाका चार ठुला बैंकहरूमध्ये एक नेसनल अष्ट्रेलिया बैंकका अर्थशास्त्रीहरूले मार्चमा जारी गरेको विश्लेषणले सन् २०२३ मा अष्ट्रेलियाको आर्थिक वृद्धिको आधाभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीहरूको खर्च रहेको खुलासा गरेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीको शीघ्र फिर्ती नभएको भए राष्ट्र खतरनाक रूपमा मन्दीको नजिक झर्ने उनीहरुले चेतावनी दिएका छन् ।
अष्ट्रेलियामा हुने शुद्ध वार्षिक आप्रवासन सन् २०२२/२३ मा उच्च पाँच लाख २८ हजारबाट सन् २०२४/२५ मा दुई लाख ६० हजार बनाउने सरकारको योजना रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij