वेबटिभी खबर
बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।
नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले बताए ।
बर्खे बिदाबाट कट्टा हुनेगरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।
बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने शिक्षा शाखा सुपरीवेक्षक खनालले जानकारी दिए । अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेका छन् ।
बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।
गर्मीका कारण ‘लू’ लागेका, झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए ।
बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij