वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी थिए ।
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरेका थिए । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझेका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए ।
अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । ‘देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ’, मन्त्री यादवले भने, ‘कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।’
मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने जनाए । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो । अस्पतालमा आएका सर्वसाधारणले सेवा सुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए ।
अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ भन्दै सोधेका थिए । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए ।
मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए । डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए ।
‘औषधीको अभाव छ, हामी स्वीकार गर्छौं’, डा भूपेन्द्रले भने, ‘दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।’ मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij