वेबटिभी खबर
काठमाडौं । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको नेपाली अनुवाद पुस्तकको रुपमा आएको हो ।
भुपेन्द्र बहादुर क्षेत्रीको संकलनमा सागर चन्दले नेपाली भाषामा अनुवाद गरेर पुस्तक बजारमा ल्याएका हुन् । विश्वमञ्चमा भारत एउटा शक्तिको रुपमा अघि बढिरहेको र प्रधानमन्त्रीको रुपमा त्यसको नेतृत्व मोदीले गरिरहेको सन्दर्भमा विश्वमञ्चमा भारतको उपस्थितीबारे यो पुस्तकले जानकारी दिने चन्दले बताए । पुस्तकमा दशक यता मोदीले गरेका २९ भाषण नेपालीमा अनुवाद गरिएको छ ।
‘विश्वमञ्चमा भारत जुन रफ्तारमा अघि बढिरहेको छ,’ चन्दले पुस्तक सार्वजनिक कार्यक्रममा भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतले आफुलाई सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ ।’
सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शत्तिशाली रुपमा देखा परेको छ । जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिर्पोटका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो । २०२२–२०२३ मा ७।२५ को आर्थिक वृद्धिदर हासिल गरेर भारत जी २० देशहरुमा लगातार दोस्रो स्थानमा रह्यो ।
पूर्वाधार, इन्टरनेटको पहुँच र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्वमञ्चमा भारत देखिनेगरी प्रभाव जमाउन पुगेको छ । विश्वव्यापी रुपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ ।
सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएका छन् । पहिलो पटक सन् २०१४ को अगष्ट । दोस्रो पटक २०१४ को सार्क बैठक । तेस्रो पटक २०१८ को मे महिनामा र चौथो पटक २०२२ को मे महिनामा उनी नेपाल आएका थिए । नेपालको धार्मिकस्थल जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सय भन्दा बढी यात्रा गरेका छन् । ‘यी सबै यात्रा र सम्बोधनहरुमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ संकलक क्षेत्रीले सुनाए ।
दुई देशको रुपमा मात्र नभइ जनस्तरमै नेपाल र भारतको सम्बन्ध अति पुरानो भएको उल्लेख गर्दै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आम नेपालीलाई पनि थाहा हुनु राम्रो हुन्छ भन्ने उदेश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’ इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij